News 'विभागीय भिडन्त'को जितसँगै एपिएफ सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । विभागीय भिडन्तमा जित हात पार्दै सशस्त्र प्रहरीको एपिएफ क्लब छैंटौ बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

बिराटनगर स्थित शहिद रंगशालामा सम्पन्न खेलमा एपिएफका लागि ४६औं मिनटमा मणि लामाले पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको अन्तिमतिर आशिष लामाले गरेका थिए ।

एपिएफका मणि लामा खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । एपिएफले सेमिफाइनलमा बैशाख १ गतेका दिन घरेलु टोली बिराटनगर–११ सँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत चैत्र ३१ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल संकटा क्लब र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनबीच हुने आयोजकले जनाएको छ । स्मरण रहोस, यी दुई टोली भर्खरै पोखरामा सम्पन्न १९औं आहा! रारा गोल्डकपको फाइनलमा समेत भिडेका थिए । त्यतिबेला संकटा विजयी भएको थियो ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments