News एपिएफका आशिष बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

बिराटनगर । शनिबार सम्पन्न प्रतिष्ठित छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफ क्लबका आशिष लामा घोषित भएका छन् । उनले पुरस्कार वापत एक थान मोटरसाइकल हात पारेका छन् ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ एपिएफ कै राजु नगरकोटी उत्कृष्ट गोलरक्षक चुनिएका छन् भने एपिएफ कै सनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर बनेका छन् । उत्कृष्ट मिडफिल्डर पनि एपिएफ कै मणि लामा चुनिंदा उत्कृष्ट फरवार्डको पुरस्कार भने संकटाका फोडे फोफोनाले हात पारेका छन् ।

उत्कृष्ट प्रशिक्षक पनि एपिएफ कै सुदिप श्रेष्ठ चुनिए । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार घरेलु टोली बिराटनगर–११ का प्रकाश बुढाथोकीले हात पारे । फेयर प्ले पुरस्कार घरेलु टोली बिराटनगर–११ ले हात पार्यो । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही २५–२५ हजार हात पारे ।

स्मरण रहोस, शहिद रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा एपिएफले पञ्जाब पुलिस, भारतलाई १–० ले हराउँदै प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । एपिएफका लागि प्रदिप लामाले एक मात्र निर्णायक गोल गरेका थिए ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा गत चैत्र २६ गतेदेखि शुरु प्रतियोगितामा तीन विदेशी सहित कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments