News अफ्रिकनसँग आर्मी स्तब्ध
गोलनेपाल

सिमरा । प्रतियोगिताको बलियो प्रत्याशी मानिएको त्रिभुवन आर्मी फुटबल क्लबलाई १–२ ले हराउँदै अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गौल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा सम्पन्न खेलमा अफ्रिकनका लागि दुवै गोल एनजिमीले गरेका थिए । खेलको ७५औं मिनटमा एनजिमीले अफ्रिकनका लागि पहिलो गोल गरेका थिए । यद्यपि ८८औं मिनटमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले पेनाल्टीबाट गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछि थपिएको अतिरिक्त समयतर्फ ९५औं मिनटमा एनजिमीले नै अफ्रिकनका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पु–याउन सफल भएका थिए । अफ्रिकनले अब फाइनल प्रवेशका लागि बैशाख ८ गतेका दिन पहिलो सेमिफाइनलमा नव जनजागृति युवा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत बैशाख ६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बागमती युवा क्लब, सर्लाही र नेपाल एपिएफ क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।

Post Comments