News टाईब्रेकरको जितसँगै बिराट बुद्ध भेट्रान सेमिफाइनलमा
रमेश समदर्शी

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराट बुद्ध भेट्रान एफसी, बिराटनगर यहाँ जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५२औं मिनटमा शिव कुमार राईको गोलबाट अग्रता बनाएको धरानले त्यसलाई जोगाउन सकेन । त्यसको दुई मिनट लगतै रुद्र बहादुर खड्काले बिराटनगरका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच विराटनगरका सन्तोष बस्नेत घोषित भए । ५२ वर्षीय बस्नेतले निर्धारित समयको खेल पूरै खेलेका थिए । उनलाई कनकाई केमिकल एन्ड प्याकेजिङका केशव मैनालीले नगद २ हजार प्रदान गरे ।

प्रतियोगिता अन्तरगत मंगलबार दमक लखनपुर भेट्रान एफसी र दूधे भेट्रान क्लब सताक्षीधामबीच खेल हुने आयोजकले जनाएको छ । कनकाई भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।

 

Post Comments