News आयोजक भोजपुर सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । प्रभावशाली जितका साथ आयोजक भोजपुर एफसी जारी चौथो भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा सगरमाथा युथ क्लब, मोरङलाई ५–२ ले हराउँदै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । भोजपुर–७ स्थित टुंडिखेल मैदानमा सम्पन्न खेलमा आयोजकका लागि १७औं मिनटमा निशान लिम्बुले पहिलो गोल गरेका थिए । त्यसको एक मिनट लगतै बिजय भुजेलले त्यो अग्रता दोब्बर पारे ।

शुरुवातबाटै हावी देखिएको भोजपुरका लागि २०औं मिनटमै सुभाष तामाङले तेस्रो गोल थपे । खेलमा आक्रमक देखिएको भोजपुरका लागि दोस्रो हाफको ५६औं मिनटमा निशान लिम्बुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल थपे ।

उता खेलको अन्तिमतिर थपिएको अतिरिक्त समयको पहिलो मिनटमै दोर्जे तामाङले सगरमाथाका लागि पेनाल्टीबाट एक गोल फर्काए । तर त्यसको एक मिनट बित्न नपाउँदै सुशन तामाङले भोजपुरका लागि पाँचों र अन्तिम गोल गरे । नाटकीय बनेको इन्जुरी समयको अन्तिम मिनटतिर सगरमाथाका लागि बिरेन्द्र लिम्बुले दोस्रो गोल गरे तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

खेलको म्यान अफ द भोजपुरका निशान लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख ७ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल धनकुटा एफसी, धनकुटा र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments