News नेपाल सुपर लिगको आधिकारिक म्याच बल बन्यो ‘अष्टांग’
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको इतिहास मै पहिलोपटक हुन गईरहेको फ्रेन्चाईज फुटबल लिग अर्थात नेपाल सुपर लिगको आधिकारिक बल पार्टनर चर्चित स्पोर्टस ब्राण्ड निभिया बनेको छ । मंगलबार एक कार्यक्रमका बीच एनएसएल र निभियाबीच सम्झौतापत्र आदानप्रदान समेत भयो ।

दुवै पक्षबीच भएको यो सम्झौतासँगै यहि बैशाख ११ गतेदेखि दशरथ रंगशालामा शुरु हुन गईरहेको नेपाल सुपर लिगमा प्रयोग हुने आधिकारिक बल बनेको छ निभियाको ‘अष्टांग’ । जुन बललाई विश्व फुटबवलको सर्वोच्च निकाय फिफाले पनि प्रो क्याटेगोरीमा राखेर प्रमाणित गरेको छ ।

राम्रोसँग उफ्रिने, सही साईज र वाटरप्रुफ लगायतका केही महत्वपुर्ण पक्ष फिफाको प्रो क्याटगोरीमा पर्ने बलको मापदण्ड भित्र पर्छ । जुन मापदण्ड अष्टांगले पूरा गरेको बताइएको छ । फिफाको प्रयोगशालामा परिक्षण गरिएको यो बल अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग हुने बल समेत हो ।

खेलकुदमा राम्रो छाप छोड्न सफल भारतीय ब्राण्ड निभियाले नेपालमा पनि लामो समयदेखि सहकार्य गर्दै आइरहेको छ । यसअघि सन् २०१३ मा नेपालमै सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा निभियाको ‘सिम्बोलो’ बल प्रतियोगिताको आधिकारिक बलका रुपमा प्रयोग गरिएको थियो ।

स्मरण रहोस, भारतको चर्चित फ्रेन्चाईज फुटबल इण्डियन सुपर लिग (आइएसएल) मा पनि अष्टांग बल नै प्रयोग भएको थियो ।

 

Post Comments