News किरनलाई धनगढीको कप्तानीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङले नेपाल सुपर लिगको फ्रेन्चाईज टोली धनगढी एफसीको कप्तानीको जिम्मेवारी पाएका छन् । धनगढीले हालै मात्र किरनलाई क्लबको आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको थियो ।

चर्चित हिरो आइ लिगमा राउण्डग्लास पञ्जाब एफसीका पहिलो रोजाईका गोलरक्षक समेत रहेका किरनले गत महिना नेपाल मै सम्पन्न थ्री नेशन्स कपमा देशलाई आफ्नै कप्तानीमा उपाधि समेत जिताएका थिए । किरनलाई कप्तानीको जिम्मेवारी दिइएको कुरा क्लबले पनि पुष्टी गरेको छ ।

नाइजेरियन प्रशिक्षक फुजा टोपे र युगल किशोर राईको प्रशिक्षकीय जिम्मेवारीमा रहेको धनगढीको मार्की खेलाडीमा भने राष्ट्रिय टोली कै चर्चित मिडफिल्डर बिशाल राई छन् । त्यसबाहेक टोलीमा दिनेश राजवंशी, रुपेश केसी, निशान खड्का, ओलावाले हाफिज, पुजन उपरकोटी जस्ता युवा र अनुवभी खेलाडीहरुको पनि सम्मिश्रणत रहेको छ ।

यहि बैशाख ११ गते शनिबारदेखि दशरथ रंगशालामा शुरु हुन गईरहेको सुपर लिगमा नेपालको विभिन्न सात शहरका फ्रेन्चाईज टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । धनगढीले लिगमा आफ्नो पहिलो खेल बैशाख १२ गतेका दिन बिराटनगर सिटी एफसीसँग खेल्नेछ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन गईरहेको सुपर लिगको सबै खेलहरुमा दर्शकको उपस्थिति भने नरहने आयोजकले जनाएको छ । लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ ।

Post Comments