News आयोजकलाई निराश पार्दै गोर्खा ब्वायज फाइनलमा
गोलनेपाल

भोजपुर । नाटकीय पूनःरागमन र संघर्षपुर्ण जितका साथ गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देही यहाँ जारी चौथो भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भोजपुर स्थित टुंडिखेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा गोर्खा ब्वायजले आयोजक भोजपुर–११ को चुनौति टाईब्रेकरमा ४–२ ले पन्छाउँदै फाइनल यात्रा तय गर्न सफल भएको हो ।

त्यसअघि खेलाइएको ४०–४० मिनटको निर्धारित समयको खेल दुवै टोलीले नाटकीय रुपमा रोमाञ्चक १–१ को बराबरी खेलेका थिए । खेलको इन्जुरी समयतर्फ ८०+२औं मिनटमा बिकास राईको गोलबाट अग्रता लिएको भोजपुरले त्यसलाई धेरैबेर जोगाउन सकेन ।

उता खेलमा नाटकीय पूनःरागमन गरेको गोर्खा ब्वायजका लागि ८०+५औं मिनटमा शक्ति राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट थप गोल हुन नसकेपछि खेलको छिनोफानो टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा गोर्खा ब्वायजका लागि गौरव श्रेष्ठ, फोफोना, शक्ति राई र मनोज श्रेष्ठले गोल गरे । उता भोजपुरका लागि हेमन्त थापा मगर र निशान लिम्बुले मात्र गोल गर्न सके । बिजय भुजेल र सुशान्त तामाङको प्रहार भने गोर्खा ब्वायजका गोलरक्षकले जोगाएका थिए ।

खेलको म्यान अफ द म्याच गोर्खा ब्वायजका पेपे घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । उनलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पुरस्कृत गरे । गोर्खा ब्वायजले फाइनलमा शनिबार नै अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनसँग उपाधिका लागि भिड्नेछ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments