News बुटवलसँग निराश बन्यो पोखरा थन्डर्स
गोलनेपाल

काठमाडौं । खुकुरी नेपाल सुपर लिगतर्फ आइतबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सलाई २–० ले हराउँदै सुपर लिगमा विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा कृत्रिम प्रकाशमा सम्पन्न भएको खेलमा बुटवल लुम्बिनीले पहिलो हाफ र दोस्रो हाफमा एक–एक गोल गरेको थियो । यद्यपि दोस्रो गोल भने पोखरा थन्डर्सले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।

पहिलो गोल ४२औं मिनटमा बक्स भित्र रहेका अर्मान्ड बिडुमले गरेका थिए । पहिलो हाफसम्म सोही अग्रता बुटवलले कायम पनि राख्यो । दोस्रो हाफमा भने ७७औं िमनटमा अजित भण्डारीले आत्मघाती गोल गर्दा बुटवलले खेलमा दोब्बर अग्रता बनाउन सफल भएको थियो । जुन अग्रता नै निर्णायक नतिजा पनि बन्यो ।

खेलमा बुटवलका लागि पहिलो गोल गरेका अर्मान्ड म्यान अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै बुटवलले लिगमा सुखद शुरुवात गर्न समेत सफल भयो । बुटवलले आफ्नो आगामी खेल १५ बैशाखमा चितवनसँग खेल्नेछ । त्यस्तै पोखराले सोही दिन बिराटनगर सिटी एफसीको सामना गर्नेछ ।

Post Comments