News नेपालले इराकसँग मेत्रीपुर्ण म्याच खेल्ने !
गोलनेपाल

काठमाडौं । नेपालले एसियाली फुटबलको पावर हाउस मानिएको इराकसँग अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने भएको छ । सो मेत्रीपूर्ण फुटबल म्याचबारे इराक फुटबल एसोसिएशले आफ्नो आधिकारिक सामाजिक सञ्जाबलमार्फत पनि घोषणा गरेको छ ।

यद्यपि हामीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग यसबारे कुरा गर्दा उनले पनि इराकसँगको मैत्रीपुर्ण फुटबल म्याचबारे इराक एफएको पेजबाटै थाहा पाएको बताए । उनले इराकसँग नेपालले २९ मईका दिन खेल्ने कुरा थाहा पाएको बताए तापनि यसबारे एन्फाले आधिकारिक रुपमा घोषणा नगर्दासम्म केही भन्न नसकिने बताए ।

इराक एफएको आधिकारिक फेसबुक पेजलाई आधार मान्ने हो भने नेपाल र इराकबीचको सो खेल इराकको दक्षिणी शहर बसरा स्थित बसरा इन्टरनेशनल स्टेडियममा हुने बताइएको छ । उता प्रशिक्षक अल्मुताइरीले पनि आफूलाई जानकारी भएअनुसार सो खेल बसरा मै हुने बताए ।

इराकले नेपालसँग खेल्नु अघि २४ मईका दिन ताजिकिस्तानसँग पनि खेल्ने बताइएको छ । जुनको कुरा पुष्टी पनि इराक एफएले आफ्नो सामाजिक सञ्जालमार्फत गरेको छ ।

विश्वकप र एएफसी एसियन कप छनौटको तयारीमा नेपाल र इराक

स्मरण रहोस, मैत्रीपुर्ण खेल पश्चात इराक र नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलहरु खेल्नेछ ।

छनौट प्रतियोगिताको समूह बी मा रहेको नेपालले कुवेतमा हुने छनौत प्रतियोगिता अन्तरगत अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । सो खेलहरु जुन महिनामा हुने पनि बताइएको छ ।

त्यस्तै छनौट प्रतियोगिताको समूह सी मा रहेको इराकले भने हङकङ, इरान र कम्बोडियासँग खेल्न बाँकी छ । जुन खेलहरु बहराईनमा हुने बताइएको छ ।

 

 
Post Comments