News जित नजिक पुगेर पनि रोकियो ललितपुर
गोलनेपाल

काठमाडौं । आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित हुन पुगेको ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिगतर्फ सोमबार एफसी चितवनसँग १–१ को बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा ललितपुर जित नजिक समेत पुगेको थियो । तर अन्तिम समय सम्हालिन नसकेको ललितपुरले पेनाल्टीबाट गोल खान पुगेको थियो ।

खेलको ४९औं मिनटमा कमल श्रेष्ठको गोलबाट अग्रता बनाएको ललितपुरले त्यसलाई इन्जुरी समयमा गुमाउन पुग्यो । उता चितवनका लागि इन्जुरी समयको ९०+१औं मिनटमा अमित तामाङले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

त्यति मात्र नभएर ललितपुरले पहिलो हाफ मै शुरुवाततिर पेनाल्टीको अवसर पनि पाएको थियो । तर ललितपुरका कप्तान अन्जन बिष्टको प्रहार चितवनका गोलरक्षक बिशाल सुनारले बिफल तुल्याइदिएका थिए । खेलमा गोलरक्षक सुनार नै प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे ।

सुपर लिग अन्तरगत बैशाख १४ गते मंगलबार पनि एक मात्र खेल हुनेछ । जस अन्तरगत धनगढी एफसीले काठमाडौं रेजर्सको सामना गर्नेछ । किरन चेम्जोङको कप्तानीमा रहेको धनगढीले आफ्नो पहिलो खेलमा बिराटनगर सिटी एफसीसँग ०–३ को निराशापुर्ण हार बेहोरेको थियो ।

 

Post Comments