News फिफा वरियतामा नेपालको सुधार, भुटान भन्दा तल झर्यो बंगलादेश
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अगस्त महिनाका लागि निकालेको पुरुष फुटबल वरियतामा नेपालले चार स्थान सुधार गर्दै १६८औं स्थानमा पुगेको छ । नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो ।

दक्षिण एसियामा यस महिना वरियता सुधार गर्ने नेपाल एक्लो टोली समेत हो । साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको १०५औं झरेको रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थान मै छ । यद्यपि भारत फिफा वरियतामा चार स्थान तल झरेको छ ।

त्यस्तै साफ च्याम्पियन माल्दिभ्स पनि दश स्थान तल झर्दै १५८औं स्थानमा छ । माल्दिभ्स दक्षिण एसियातर्फ भने दोस्रो स्थानमा छ । फिफा वरियतामा यथावत रहेको भुटान १८७औं स्थानमा छ । यद्यपि भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा उक्लिएको छ । र बंगलादेशलाई उछिन्न सफल भएको छ ।

फिफा वरियतामा आठ स्थान तल झर्न पुगेको बंगलादेश १८८औं स्थानमा छ । र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । उता हाल फिफाको कारवाहीमा परे तापनि फिफाले निकालेको वरियतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलंका फिफा वरियतामा २०५औं स्थानमा छ ।

एसियामा जापान अगाडी, विश्वको शिर्ष स्थानमा बेल्जियम

त्यसैगरी एसियाली राष्ट्रतर्फ फिफा वरियताको २४औं स्थानमा रहेको जापान शिर्ष स्थानमा छ । २६औं स्थानमा रहेको इरान एसियातर्फ दोस्रो स्थानमा छ भने ३५औं स्थानमा रहेको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा बेल्जियम छ । दक्षिण अमेरिकी महारथी ब्राजील दोस्रो स्थानमा रहँदा विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा छ ।

 

Post Comments