News थ्रीस्टारसँग कप्तान लामाको सम्झौता थप
गोलनेपाल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका अहम सदस्य तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान बिक्रम लामाले क्लबसँगको आफ्नो सम्झौता थप गरेका छन् । यो सम्झौतासँगै क्लबसँगको उनको १२ बर्षे यात्रालाई निरन्तरता पनि पाएको छ ।

चोटका कारण लामो समय मैदान बाहिर रहेका लामा उपचारपश्चात् हालै फेरि फुटबलमा फर्किएका थिए । उता थ्रीस्टारले बिहीबार लामासँगको सम्झौता नविकरण गरेको कुरा आधिकारिक रुपमा घोषणा गरेको छ । यो सम्झौतासँगै बिक्रमले यस बर्ष हुने शहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार कै कप्तानी गर्नेछन् ।

थ्रीस्टारसँगको सम्झौतापछि खुशी देखिएका लामा भन्छन्, “मेरो क्लबसँगको सहकार्यले १२ बर्षको यात्रा तय गर्दै गर्दा म निकै खुशी र उत्साहित छु । क्लबसँग बिताएका ती बर्षहरुमा धेरै कुराहरुको भोगाई र मेहनतहरु समेटिएका छन् । यो क्लब मेरो लागि एउटा परिवारसरह भैसकेको छ र क्लबमा आवद्ध सबै मेरा परिवार जस्तै हुन् ।”

लामाको बुझाईमा थ्रीस्टार क्लब यसपटकको लिगमा उपाधिको दावेदार मध्ये एक क्लब रहेको बताए । उनी अगाडी भन्छन्, “मलाई लाग्छ हामी उपाधिको दावेदार मध्ये एक क्लब हौं । क्लबमा राम्रा खेलाडीहरु छन् । उनीहरु गोल र जितका भोका पनि छन् । मलाई विश्वास छ, यसपटक लिगमा हामी उपाधिका लागि बलियो चुनौति पेश गर्नेछौं ।”

साथै अन्तिममा उनले क्लबलाई पनि धन्यवाद दिएका छन् । उनी भन्छन्, “मलाई यति बर्षसम्म विश्वास गरेर साथ र समर्थन दिने क्लबप्रति सधै आभार र धन्यवाद प्रकट गर्न चाहन्छु ।”

स्मरण रहोस, थ्रीस्टारले चारपटक लिग उपाधि जितिसकेको छ । त्यसमध्ये अन्तिमपटकसन् २०१३ मा शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

 

Post Comments