News उज्वेकिस्तानमा नेपालले खेल्ने मिति, समय र खेलस्थलको घोषणा
गोलनेपाल

काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिताका खेलहरुको मिति, समय र खेलस्थलबारे घोषणा गरेको छ ।

छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले खेल्ने मिति, समय र खेलस्थलबारे पनि एएफसीले मंगलबार घोषणा गरेको छ । जसअन्तरगत नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग १८ सेप्टेम्बरका दिन खेल्नेछ भने २१ सेप्टेम्बरका दिन हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलका रुपमा फिलिपिन्स र हङकङबीचको खेल २४ सेप्टेम्बरका दिन हुनेछ ।

जुन खेलहरु उज्वेकिस्तानको तश्केन्ट स्थित जार स्टेडियममा हुनेछन् । त्यस्तै समूह एफका खेलहरु स्थानीय समयअनुसार अपरान्ह ३ बजेदेखि शुरु हुनेछन् । जुन नेपाली समयअनुसार ३ः४५ बजे हुनेछ ।

समूहको शिर्ष स्थानमा रहने टोलीले आगामी जनवरी २० देखि ६ फेब्रुअरीसम्म भारतमा हुने एएफसी वुमन्स एसियन कपमा सहभागिता जनाउने छ । आयोजकको हैसियतले भारतले यसअघि नै प्रतियोगिताका लागि छनौट भईसकेको छ । जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

स्मरणीय छ, छनौट प्रतियोगिताका लागि नेपाली टोलीले पनि आफ्नो तयारी शुरु गरिसकेको छ । र हाल बन्द प्रशिक्षणमा समेत छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्स छन् ।

 

 

 

Post Comments