News नेपाली फुटबलमा चितवन र झापा एफसीले थपेको ऐतिहासिक आयाम
गोलनेपाल

काठमाडौं । केही महिना अघि सम्पन्न नेपालको पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग खेलेको एफसी चितवन र नेपालकै पहिलो निजी फुटबल क्लब झापा एफसीबीच ऐतिहासिक रणनीतिक साझेदारी भएको छ ।

मंगलबार दुवै क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालब फेसबुकमार्फत नेपाली फुटबलको विकासका लागि दुई क्लबबीच सम्झौता भएको कुरा घोषणा गरेका हुन ।

स्मरण रहोस, एएफसी लाइसेन्स प्राप्त प्रशिक्षक सचिन्द्र धिमालको प्रशिक्षकीय जिम्मेवारीमा रहेको झापाले यहि भाद्र १० गतेदेखि शुुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिगमा सहभागिता जनाउँदैछ ।

सम्झौतामा के छ ? के भन्छन् दुवै क्लब?

दुवै क्लबबीच भएको सम्झौता अनुसार सी डिभिजन लिग छनौट खेल्ने झापाले आफ्नो जर्सीमा आईएमई समूहको लोगो प्रयोग गर्नेछ । दुवै क्लबबीच खेलाडी साटफेर कार्यक्रम पनि हुनेछ । झापाले आफ्नो जिल्लामा एफसी चितवनबारे प्रचार प्रसार गर्नुका साथ क्लबको प्रवद्र्धन समेत गर्नेछ ।

त्यसमध्ये सम्झौताको मुख्य पाटो भनेको झापाका क्षमतावान र प्रतिभाशाली खेलाडीहरुले एफसी चितवनमा ट्रायल दिन पाउने छन् । ट्रायलमा उत्तिर्ण हुने उत्कृष्ट खेलाडीहरुले एफसी चितवनमा आवद्ध भएर नेपाल सुपर लिग खेल्ने अवसर समेत पाउने छन् ।

यो ऐतिहासिक साझेदारीलाई लिएर दुवै क्लब खुशी पनि देखिए । एफसी चितवनका अध्यक्ष सचिन ढकाल भन्छन्, “झापा एफसीसँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । यो सहकार्यले दुवै क्लबलाई फाईदा पुग्नुको साथै नेपाली फुटबलको विकासमा पनि सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।”

उता झापा एफसीका उपाध्यक्ष तथा प्रवक्ता सुजन गौतम पनि यो साझेदारीलाई लिएर खुशी र उत्साहित देखिए । उनी भन्छन्, “हाम्रो योजना, उद्देश्य र भिजनमाथि विश्वास गर्ने एफसी चितवनप्रति हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं । नेपाल सुपर लिग खेल्ने क्लबबाट यस किसिमको सहयोग र समर्थन पाउँदा हामी निकै उत्साहित पनि छौं ।”

Post Comments