News इङलिस फुटबलमा उदाएकी स्टारः अस्मिता आले
गोलनेपाल
  • सुशिल थापा

काठमाडौं । कुनै पनि फुटबल खेलाडीको व्यवसायीक फुटबल खेल्ने एउटा लक्ष्य हुन्छ । त्यसमा पनि युरोपका ठूला क्लबहरुमा आवद्ध भएर खेल्नु सबैको सपना पनि हुन्छ । जुन सपना कमैको मात्र पूरा हुने गर्छ ।

यहि सपना पूरा गर्ने कम खेलाडीहरुको सूचीमा पर्छिन् नेपाली मूलकी अस्मिता आले । भूपू गोर्खा सैनिककी सन्तान अस्मिता इङल्याण्ड मै जन्मी उतै हुर्किएर इङलिस फुटबलको शिर्ष लिगमा पुर्ण व्यवसायीक रुपमा खेल्ने नेपाली मूलकी एक मात्र खेलाडी समेत हुन ।

निसन्देह एउटा स्टार खेलाडीमा हुनुपर्ने क्षमता र गुण अस्मितामा छ । उनले त्यसलाई इङलिस फुटबलमा प्रमाणित गरेर पनि देखाईसकेकी छिन् । अस्मिताले इङल्याण्डको राष्ट्रिय युथ टिममा पनि आफ्नो उपस्थितिलाई पटक–पटक सही रुपमा प्रमाणित गरेर देखाईसकेकी छिन् ।

इङल्याण्डको युथ टिममा अस्मिताको उपस्थिति अहम पनि छ । जसकै फलस्वरुप उनले इङल्याण्डको यु–१७ टिममा सर्वाधिक १३ पटक आफ्नो क्षमतालाई सबै सामू देखाईसकेकी छिन् । त्यति मात्र नभएर इङल्याण्डको यु–१८ र यु–१९ टिममा पनि आफ्नो उपस्थितिलाई बलियो बनाईसकेकी छिन् ।

उमेरले १९ बर्षमा दौडीरहेकी अस्मिताले सन् २०१९ मा स्कटल्याण्डमा सम्पन्न युइएफए यु–१९ वुमन्स च्याम्पियनसिपमा इङल्याण्डको प्रतिनिधित्व गर्दै आफ्नो खुबी पनि देखाउन सफल भएकी थिईन् ।

१८ बर्षको उमेरमै चर्चित इङलिस क्लब एस्टन भिल्लाको सिनियर टिममा स्थान बनाउनुका साथै पहिलोपटक व्यवसायीक कन्ट्रयाक्ट हासिल गरेपछि अस्मिता चर्चामा आएकी थिईन् । यद्यपि उनको त्यो चर्चा हालै थप चुलिएको छ ।

मैदानमा डिफेन्डरका रुपमा खेल्ने अस्मिताले हालै इङलिस फुटबलको शिर्ष लिग वुमन्स सुपर लिग २०२१–२२ का लागि चर्चित लण्डन क्लब टोटेनह्याम हटसपरसँग दुई बर्षको सम्झौता गरेपछि उनको चर्चा रातारात फेरि चुलिएको हो ।

मैदानमा विपक्षी विरुद्ध खेल्ने अस्मिताको प्रभावशाली र रक्षात्मक रणनीति कै कारण उनी आफ्नो टोलीका लागि एक अहम सदस्यका रुपमा समेत छिन् । यो कुराको पुष्टी उनले गत सिजन एस्टन भिल्लाका लागि खेल्दै गरिसकेकी छिन् । त्यतिबेला अस्मिताले भिल्लाका लागि उत्कृष्ट प्रदर्शन गरेर मैदानमा विपक्षी विरुद्ध आफ्नो छाप छोड्न पनि सफल भएकी थिईन् ।

फलस्वरुप उनी ‘प्लेयर्स’ प्लेयर अफ द सिजनको अवार्ड जित्न पनि सफल भईन् । त्यति मात्र नभएर उनले आफ्नो प्रशिक्षक, खेलाडी तथा फुटबलप्रेमीहरुको प्रशंसा र वाहवाही पनि बटुलिन् । सोहीबेला अस्मिताको खेल्ने कलात्मक शैली, जुझारु प्रदर्शन र प्रभावशाली रक्षात्मक रणनीतिबाट प्रभावित बन्यो टोटेनह्याम । टोटेनह्यामलाई अस्मिता जस्तै खेलाडीको टिममा खाँचो पनि थियो ।

अस्मिताको प्रदर्शनबाट टोटेनह्यामकी प्रशिक्षक रिहानी स्किनर पनि प्रभावित भएकी थिईन् । स्किनर भन्छिन्, “अस्मितासँग निकै क्षमता छ । उनले टिमको रक्षात्मक क्षेत्रमा ठूलो योगदान दिन सक्छिन् ।”

टोटेनह्याममा नयाँ पारीको शुरुवात गर्न गईरहेकी अस्मिताले त्यहाँ उनीजस्तै अन्य क्षमतावान र राम्रा खेलाडीहरुसँगै खेल्ने छिन् । जहाँ उनले १३ नम्बरको जर्सी लगाएर खेलाडीका रुपमा धेरै कुराहरु सिक्ने अवसर पनि पाउने छिन् ।

भिल्लामा निखारिएकी अस्मिता

एस्टन भिल्लाको युथ एकेडेमी हुँदै टोटेनह्याममा सिनियर टिमसँगको यात्रा तय गर्दै गर्दा अस्मिताको यो सफलताको बाटो त्यति सहज भने थिएन । युवा अवस्था मै यो सफलता हासिल गर्न अस्मिताले निकै मेहनत र कडा अभ्यास पनि गरेकी थिईन् ।

लण्डन क्लबमा आवद्ध हुनु अघि अस्मिताको व्यवसायीक यात्रा भने सन् २०१८ मा एस्टन भिल्लाबाटै शुरु भएको थियो । रोचक कुरा त, भिल्लाको युथ सिस्टमबाटै सिनियर टिमसम्म आएकी अस्मिताले पहिलोपटक एस्टन भिल्लाको एकेडेमीका लागि ट्रायल दिंदा असफल पनि भएकी थिईन् ।

तर पनि उनले हिम्मत भने हारेकी थिईनन् । जसको फलस्वरुप एस्टन भिल्लाले फेरि उनलाई सम्पर्क गरेर टिममा परेको कुरा जानकारी गराएको थियो । त्यो अवसरलाई अस्मिताले सही रुपमा सदुपयोग गर्दै आफूलाई टिममा अब्बल साबित गरेर देखाईदिन पनि सफल भईन् ।

भिल्लामा सन् २०१८ मा व्यवसायीक कन्ट्रयाक्ट हात पारेकी अस्मिताले टोटेनह्याममा आवद्ध नहुँदासम्म भिल्लाका लागि समग्रमा ४६ म्याच खेल्दै दुई गोल गर्न समेत भ्याएकी थिईन् । त्यति मात्र नभएर वुमन्स सुपर लिगमा भिल्लाका लागि कुल १८ म्याच खेल्दै टोलीलाई रेलिगेशनमा पर्नबाट समेत जोगाएकी थिईन् ।

स्मरण रहोस, सन् २०१९–२० मा एस्टन भिल्ला वुमन्स सुपर लिगमा बढुवा हुँदा अस्मिता टोलीकी महत्वपूर्ण सदस्यका रुपमा रहेकी थिईन् । भिल्लामा रहँदा अन्य खेलाडीहरु माझ लोकप्रिय रहेकी अस्मिताले टोलीमा मैदान बाहिर र भित्र सकरात्मकता र जुझारुपनको आभाष पनि दिलाएकी थिईन् ।

अस्मितामा रहेको कडा मेहनत गर्ने बानी, लगनशीलता, अनुशासन, सकरात्मक व्यक्तित्व र व्यवहारले उनी एस्टन भिल्ला भित्र सबैसँग मिलेर बस्न र आफूलाई टोलीको महत्वपूर्ण सदस्यका रुपमा समेत उभ्याउन सफल भएकी थिईन् । त्यसयता उनी इङल्याण्डको शिर्ष फुटबलमा आफ्नो कलात्मक फुटबल खेल्ने शैली र सफलताका पाईलाहरुलाई पछ्याईरहेकी छिन् ।

एस्टन भिल्लामा रहँदा युवा अवस्थादेखि सन् २०१८ सम्म ९ बर्षे यात्रामा अस्मिताले आफूलाई एउटा फुटबल खेलाडीका रुपमा सफलताका साथ साथै परिपक्व भएर उभ्याउन पनि सक्षम भईन् ।

व्यवसायीक फुटबलरको सपना र परिवारको साथ

व्यवसायीक फुटबल खेलाडी बन्ने अस्मिताको एउटा सपना थियो । त्यो सपना पूरा गर्न उनी स्कुले विद्यार्थीदेखि दिनरात नभनी अथक प्रयासरत थिईन् । त्यहि प्रयास र मेहनतले उनको त्यो सपना पनि पूरा भयो । यद्यपि व्यवसायीक फुटबल खेलाडी बन्ने अस्मिताको त्यो सपना उनको परिवारको सहयोग र समर्थन बिना सम्भव थिएन ।

व्यवसायीक फुटबल खेलाडी बन्ने अस्मिताको त्यो लामो यात्राका खुड्किलाहरुमा उनलाई सफलताको त्यो उचाईंमा पुग्न उनको परिवारले पनि अहम भूमिका खेल्यो । अस्मिताले आफ्नो फुटबल यात्रामा पिता अमृत आले र आमा बसन्ती आलेको साथ सधै पाईरहिन् । उनलाई हरेक क्षण हौसला र समर्थन दिने काम उनको माता–पिताले गरे ।

खेल क्षेत्रलाई राम्रोसँग बुझेको परिवार कै कारण अस्मितालाई फुटबलमा लाग्न थप सहज बन्यो । बेलायती सेनामा कार्यरत उनका पिता अमृतको पुर्खौली घर भने नेपालको तनहुँ हो । स्क्वासका राम्रा खेलाडी अमृतसँग नेपालमा राष्ट्रियस्तरका खेलकुदहरुमा प्रतिस्पर्धा गरेको अनुभव छ ।

खेल क्षेत्रलाई बुझेकै कारण अमृतले आफ्ना छोरी अस्मितालाई पनि खेलकुदमा लाग्न हौंस्याए । अस्मिताले बाल्यकालदेखि नै फुटबलमा आकर्षित बनेको अमृत सम्झिन्छन् । अमृतका अनुसार अस्मिताले सानै उमेरदेखि गुडिया खेलौना लगायत खेलाउनुको साटो विभिन्न आकारका बलहरुसँग रमाउन थालिन् ।

अस्मिताले केवल पाँच बर्षको उमेर मै बललाई लात्ताले हिर्काउन शुरु गरेको अमृत सम्झिन्छन् । कालान्तरमा अस्मिताका लागि खेलकुद नै प्यारो बन्यो । उनी आफ्नो फुर्सदको समयमा खेलकुद मै रमाउन र बिताउन थालिन् ।

खेलकुद त्यसमा पनि खासगरी फुटबलमा अस्मिताको लगाव देखेर उनका पिता अमृतले उनलाई राम्रो फुटबल खेलाडी बनाउने योजना बुन्न थाले । त्यसका लागि अस्मितालाई उपयुक्त वातावरण, अभ्यास, समर्थन र राम्रो निर्देशनको खाँचो थियो । त्यसका लागि अमृतले एस्टन भिल्ला फुटबल एकेडेमीलाई नै उत्तम विकल्पका रुपमा देखे ।

एस्टन भिल्ला एकेडेमीमा आवद्ध हुँदा अस्मिता केवल ८ बर्षकी मात्र थिईन् । अहिले आएर त्यही सानी अस्मिता इङलिस फुटबलकी उदाउँदो स्टार बनेकी छिन् । पक्कै पनि व्यवसायीक फुटबलमा उनको करियरले राम्रो उचाईं लिने निश्चित छ ।

अस्मिताका लागि यो उनको उदाउँदो करियरको एउटा शुरुवात मात्र हो । व्यवसायीक फुटबलमा ठूलो सफलता र विशेष उपलब्धी हासिल गर्न अस्मिताले पक्कै पनि लामो यात्रा तय गर्नुपर्नेछ । र त्यसका लागि उनी अब शारीरिक र मानसिक रुपमा तयार पनि छिन् ।

(फेयरफेक्स, भिए, अमेरिका)

 

 

 

 

Post Comments