News बराबरी होईन जितका लागि खेल्छौंः अब्दुला
गोलनेपाल

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले भारत विरुद्ध हुने दुई मैत्रीपुर्ण फुटबल म्याचमा जितका लागि मैदानमा उत्रिने बताएका छन् ।

बुधबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब्दुलाले भारत विरुद्धको दुवै खेल बराबरी नभई जित्नका लागि खेल्ने बताए । अब्दुलाले भारत राम्रो र बलियो टोली भए तापनि आफूहरु निश्चित जितका लागि मैदानमा उत्रिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुलाले भने, “हामी भारत विरुद्धको दुवै खेल बराबरी होईन जितका लागि खेल्नेछौं । साथै ती दुई म्याचका लागि हामी तयार पनि छौं । भारत बलियो टोली हो तर हामी निश्चित जितका लागि मैदानमा उत्रिने छौं ।”

कार्यक्रममा बोल्दै प्रशिक्षक अब्दुलाले भारत विरुद्धको दुई मैत्रीपुर्ण म्याच नेपालका लागि आगामी साफ च्याम्पियनसिपको तयारीका लागि महत्वपुर्ण खेलका रुपमा रहने बताए । अब्दुलाले नेपालले साफ जित्ने कुरामा अहिले नै अनुमान गर्न नसकिने बताउँदै जसले राम्रो तयारी गर्छ, खेल्छ र राम्रो नतिजा ल्याउँछ उसैले उपाधि जित्ने जिकिर गरे ।

यद्यपि उनले आफ्नो लक्ष्य साफ जित्नु र नेपाललाई सन् २०२३ को एएफसी एसियन कपमा छनौट गराउनु रहेको बताए ।

नेपाल र भारतबीच दुई मैत्रीपुर्ण फुटबल म्याच यहि भदौ १७ र २० गतेका दिन दशरथ रंगशालामा हुँदैछ । दुवै खेलहरु नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

स्मरण रहोस, यस बर्षको प्रतिष्ठित साफ च्याम्पियनसिप आगामी अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुँदैछ । साथै आयोजक माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

 

Post Comments