News राष्ट्रिय पुरुष फुुटबल टोलीको विदाई
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गर्न जाने राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिहीबार एक कार्यक्रमका बिच विदाई गरिएको छ ।

एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली टोलीका कप्तान किरन चेम्जोङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे । सो अवसरमा एन्फाका अन्य पपदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाली टोली शुक्रबार कतारको दोहातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कतारमा नेपाली टोलीले १७ दिन लामो बन्द प्रशिक्षण गर्ने एन्फाले जनाएको छ । टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारी भने यसअघि नै कतार प्रस्थान गरिसकेका छन् ।

एन्फाका अनुुसार नेपाली फुुटबल टोलीले कतारमा प्रशिक्षण गरेर त्यतैबाट माल्दिभ्स प्रस्थान गर्नेछ । स्मरण रहोस, यस बर्षको साफ च्याम्पियनसिपको १३औं संस्करण अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुँदैछ । नेपालले उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशसहित पाँच टोलीहरुले सहभागिता जनाउँदै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

Post Comments