News फुटसल लिगः राम्रो प्रदर्शन र कडा प्रतिस्पर्धाको अपेक्षा
गोलनेपाल

पोखरा । बहुप्रतिक्षित ए डिभिजन फुटसल लिगमा सहभागि हुने टोलीहरुले प्रतियोगितामा आफूहरुले राम्रो प्रदर्शन र कडा प्रतिस्पर्धाको अपेक्षा गरेको बताएका छन् ।

फुटसल लिग आयोजनाको पूर्व सन्ध्यामा खेल आयोजनास्थल पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजित पत्रकार सम्मेलनमा आ–आफ्नो प्रतिक्रिया दिने क्रममा सहभागि क्लबका कप्तान तथा प्रशिक्षकहरुले सो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकांश सहभागी क्लबका प्रतिनिधीहरुले ए डिभिजन फुटसल लिग क्षमतावान खेलाडीहरुको क्षमता प्रदर्शन गर्ने राम्रो गन्तव्य हुने अपेक्षा लिएको बताए ।

सोही अवसरमा एन्फा फुटसल कमिटीका अध्यक्ष रत्न कुमार श्रेष्ठ तथा एन्फा फुटसल प्रमुख बिनोद गुरुङले शनिबारदेखि शुरु हुन गईरहेको ए डिभिजन फुटसल लिगको सबै तयारी पूरा भएको समेत जानकारी दिए ।

प्रतियोगितामा देशैभरिबाट छनौट भएर आएका उत्कृष्ट १० टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुनेछन् । उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौं भिड्ने छन् । त्यस्तै सोही दिन दोस्रो खेलमा स्पोर्टस क्यासल पोखरा र प्रभातफेरी युथ क्लब भिड्ने छन् ।

यहि असोज २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार रहेको एन्फाले जनाएको छ ।

 

Post Comments