News आयोजकलाई सुकचर च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

सुकचर । उत्कृष्ट पूनःरागमन गर्दै प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नव युवा क्लब सुकचर ११, मोरङले जित्न सफल भएको छ । सोमबार सम्पन्न फाइनल भिडन्तमा नव युवाले बिराटनगर स्पोर्टस एकेडेमीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

त्यसअघि बुढिगंगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै आयोजकले खेलमा उत्कृष्ट पूनःरागमन गरेको थियो । फाइनलमा आयोजकका तिर्थ बस्नेत नायक बने ।

बिराटनगरका लागि १८औं मिनटमा साजन राईले पहिलो गोल गरेका थिए भने २६औं मिनटमा सिसम चौधरीले दोस्रो गोल थपेका थिए । यद्यपि आयोजक नव युवाका लागि तिर्थ बस्नेतले ४६ र ६९औं मिनटमा दुई गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच आयोजक नव युवाका रुपेश माझी घोषित भए । विजेता बनेको आयोजक नव युवाले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने उपविजेता बिराटनगरले २५ हजारमा चित्त बुझायो ।

नव युवा क्लब सुकचर ११, मोरङको आयोजनामा गत भाद्र २६ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश १ का कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments