News ओमानसँग नेपालको फराकिलो हार
गोलनेपाल

काठमाडौं । आफुभन्दा बलियो टोली ओमानसँग फराकिलो हार बेहोर्दै नेपालले कतारमा साफ च्याम्पियनसिपको तयारीलाई समापन गरेको छ । माल्दिभ्स उड्नु अघि अन्तिम मैत्रीपुर्ण अभ्यास म्याचका रुपमा आइतबार १६८औं वरियताको नेपालले ७८औं वरियताको ओमानसँग २–७ को फराकिलो हार बेहोर्यो ।

दोहा स्थित कतार युनिभर्सिटी ग्राउण्डमा सम्पन्न खेलको नवौं मिनटमै फमी सैदको गोलबाट ओमानले शुरुवाती अग्रता लिएको थियो । ३०औं मिनटमा मोहसेन जवहरले ओमानको त्यो अग्रता दोब्बर पारे ।

दोस्रो हाफ शुरु भएको पहिलो मिनटमै मोहसेन गवरले ओमानको त्यो अग्रता ३–१ को स्थितिमा ल्याए । ४९औं मिनटमा मोहसेन एल घसनीले ओमानका लागि चौथो गोल थपे । त्यस्तै ६०औं मिनटमा अब्दुलाजिज अल मुकबलीले ओमानका लागि पाँचौ गोल गरे ।

खेलमा एकपक्षीय जित निकालेको ओमानका लागि ६५औं मिनटमा अल मुकबलीले नै छैठौं गोल गरे भने ७६औं मिनटमा जमिल अस यहमदिले सातौं गोल थप्दै ओमानको फराकिलो जित पक्का गरे ।

खेलमा नेपालका लागि अनन्त तामाङ र आयुष घलानले दुई सान्त्वना गोल फर्काएका थिए । यो मैत्रीपुर्ण खेल र फराकिलो हारसँगै नेपालको कतार बसाई पनि सकिएको छ ।

अब नेपाली टोली साफ च्याम्पियनसिपका लागि माल्दिभ्सतर्फ प्रस्थान गर्नेछ । यहि अक्टुबर १ तारीखदेखि शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले प्रतियोगिताको शुरुवात गर्नेछ ।

 

Post Comments