News शंखमुल बन्यो प्ले अफमा पुग्ने दोस्रो टोली
उमेश पुन

पोखरा । शंखमुल फुटसल राष्ट्रिय ए डिभिजन फुटसल लिगको प्ले अफमा पुग्ने स्पोर्टस क्यासल पछि दोस्रो टोली बनेको छ । आइतबार सम्पन्न खेलमा झरना स्पोर्टस क्लबलाई ७–० को फराकिलो अन्तरले हराएपछि शंखमुल प्ले अफमा पुगेको हो ।

पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा शंखमुलका लागि जेनिश प्रजापतिले ह्याट्रिक गरे । त्यस्तै अरुज सिंह, कृजल खड्का, योगेश श्रेष्ठ र सबिन खड्काले एक–एक गोल गरे । खेलमा जेनिस प्रजापति म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ८ खेलबाट १८ अंक जोडेको शंखमुल दोस्रो स्थानमा छ र शिर्ष स्थानको स्पोर्टस क्यासल भन्दा ४ अंकले पछाडी छ । उता लगातार आठौं हार बेहोरेको झरना अंकविहीन छ र आगामी सिजनका लागि रेलिगेशनमा परेको छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा सबिन मेमोरियल एफसीले प्रभातफेरी युथ क्लबलाई ८–४ ले हरायो । सबिन मेमोरियलका लागि अविनाश तामाङले दोहोरो ह्याट्रिकसहित ६ गोल गरे भने मनोज गुरुङले थप दुई गोल गरे । पराजित प्रभातफेरीका लागि डोना थापाले २ गोल गरे भने अखिलेश कार्की र नबिन लामाले एक–एक गोल गरे ।

खेलमा सबिन मेमोरियलका अविनाश तामाङ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ८ खेलबाट १३ अंक जोडेको सबिन मेमोरियलको प्ले अफमा पुग्ने सम्भावना अझै कायम छ । उता पराजित प्रभातफेरीको ७ अंक छ र प्ले अफमा पुग्ने अवसरबाट बाहिरिएको छ ।

त्यसैगरी आइतबार नै भएको अर्को खेलमा ढुकु फुटसल हवले मच्छिन्द्र स्काई गोल्समाथि ७–५ को जित निकाल्यो । ढुकुका लागि बिक्रान्त नरसिंह राणा एक्लैले ४ गोल गरे भने अमित लामा, उर्केन शेर्पा र प्रसिद्ध मगरले एक–एक गोल गरे । पराजित स्काई गोल्सका लागि अमित तामाङले दुई गोल गर्दा मनोज राई, आशिष सुमन र सन्जोग चाम्लिङले एक–एक गोलको योगदान दिए ।

खेलको म्यान अफ द म्याच बिक्रान्त नरसिंह राणा घोषित भए । आठौं चरणको खेलहरु समाप्ती हुँदासम्म समान १०–१० अंक जोडेका स्काई गोल्स र ढुकु फुटसल पनि प्ले अफमा पुग्नबाट असफल भएका छन् ।

Post Comments