News जे.एस.वाई.सी. बन्यो च्याम्पियन
गोलनेपाल

बराहक्षेत्र । संघर्षपुर्ण जितका साथ जे.एस.वाई.सी. सुन्दरहरैचा मोरङले प्रथम चतरा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको उपाधि भिडन्तमा जे.एस.वाई.सी.ले एभरेष्ट फुटबल क्लब, बराहक्षेत्र–३ नडाहालाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।

त्यसअघि बराहक्षेत्र खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने जे.एस.वाई.सी.ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको जे.एस.वाई.सी.ले उपाधिसहित नगद ४५ हजार हात पार्यो भने उपविजेता एभरेष्ट एफसीले २० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले पुरस्कृत गरे ।

चतरा फुटबल क्लब, बराहक्षेत्र–१, सुनसरीको आयोजनामा गत असोज १० गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments