News श्रीलंका विरुद्ध सकरात्मक नतिजा निकाल्न विश्वस्त छन् नेपालका प्रशिक्षक र कप्तान
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटनमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई हराएर उत्साहित बनेको नेपालले सोमबार श्रीलंकालाई पनि हराउने मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बताएका छन् ।

श्रीलंका विरुद्धको खेल अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुतारीले श्रीलंका विरुद्ध निश्चित जित र तीन अंक बटुल्ने उद्घोष गरे ।

साथै उनले श्रीलंका विरुद्धको खेल कठिन हुने पनि बताए । अल्मुतारी भन्छन्, “श्रीलंका कठिन प्रतिद्वन्द्वी हो । उनीहरु आक्रमक खेल्छन् । उनीहरु ट्याकल गर्न पनि माहिर छन् । बंगलादेश विरुद्ध उनीहरुले धेरै ट्याकल गरे । तर हामी त्यसका लागि तयार छौं ।”

अल्मुरतारीले कुराकानी कै क्रममा सोमबार श्रीलंकालाई हराउन नसके पहिलो खेलमा माल्दिभ्सलाई किन हराउन सक्यौं त? भनेर उल्टै प्रतिप्रश्न गरे । “यदि हामी भोलीको खेल जित्न सकेनौं भने माल्दिभ्स विरुद्धको खेल किन जित्यौं त? अल्मुतारीले भने । साथै उनले श्रीलंका विरुद्ध झिनो अन्तरको जितसहित ३ अंक बटुल्न सके पनि आफू खुशी हुने बताए ।

आफू र टिमप्रति आत्मविश्वासी छन् कप्तान किरन

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले श्रीलंका विरुद्ध सकरात्मक नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफ्नो र टिमप्रति पूरा भरोसा रहेको समेत स्पष्ट पारे ।

किरन भन्छन्, “श्रीलंकालाई हामीले हलुका रुपमा लिएका छैनौं । यद्यपि हामी उनीहरु विरुद्ध भिड्न तयार छौं । र हामीले नतिजा पनि सकरात्मक निकाल्ने छौं । श्रीलंका विरुद्धको खेल कठिन हुने भए तापनि हामी निश्चित अंकका लागि मैदानमा उत्रिने छौं ।”

स्मरण रहोस, उद्घाटन खेलमा श्रीलंकाले बंगलादेशसँग १–० को हार बेहोरेको थियो भने नेपालले पनि माल्दिभ्समाथि समान १–० को जित निकालेको थियो ।

नेपाल र श्रीलंका बिचको खेल सोमबार नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

 

Post Comments