News उपाधिका लागि सुवर्ण र निर्मल समाज भिड्ने
गोलनेपाल

बिजयवस्ती । समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुवर्ण युवा क्लब र निर्मल समाज युवा क्लब भिड्ने भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ मंगलबार भएको कडा प्रतिस्पर्धात्मक खेलमा सुवर्ण युवा क्लबले ९ खेलाडीमा खुम्चिएको बिरगंज युनाइटेडलाई सडन डेथमा ६–४ ले हराउँदै निर्मल समाजसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

टाईब्रेकरमा जानु अघि दुवै टोलीले निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । बिजयवस्ती खेलमैदानमा भएको खेलको पहिलो मिनटमै बिबेक चौधरीको गोलबाट बिरगंजले खेलमा अग्रता लिएको थियो । तर त्यो अग्रता उसले धेरैबेर कायम राख्न सकेन ।

पहिलो हाफ कै १८औं मिनटमा आफिज ओलावालेले सुवर्ण युवा क्लबका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए । त्यस्तै निर्धारित समयतर्फ नै सुवर्णले पेनाल्टीको अवसर पनि पाएको थियो । दोस्रो हाफको ३५औं मिनटमा पाएको त्यो पेनाल्टीलाई विश्व अधिकारीले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार बिरगंजका गोलरक्षक दिलमणि चौधरीले जोगाएका थिए ।

त्यस्तै खेलकै क्रममा बिरगंजका कृपा चौधरी र रन्जय चौधरीले रातो कार्ड खाँदै मैदान छाड्दा अन्तिमतिर बिरगंज युनाइटेड ९ खेलाडीमा खुम्चिएको थियो । तर पनि खेललाई सडन डेथमा लैजान बिरगंज सफल भएको थियो । खेलको म्यान अफ द म्याच सुवर्ण युवा क्लबका गोलरक्षक अशोक बराल घोषित भए ।

अब प्रतियोगिताको फाइनल खेल असोज २८ गतेका दिन सुवर्ण युवा क्लब र निर्मल समाज युवा क्लबबीच हुनेछ । बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments