News साविक विजेता पुलिस दोस्रो बिरगंज गोल्डकपको फाइनलमा
गोलनेपाल

बिरगंज । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब, काठमाडौं जारी दोस्रो बिरगंज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ पुलिसले घरेलु टोली बिरगंज युनाइटेडलाई सडन डेथमा हराउँदै उपाधि रक्षा गर्ने अभियान नजिक पुगेको हो । आदर्शनगर रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा पुलिसले बिरगंजमाथि ७–६ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा पुलिसका गोलरक्षक अमित टमाटा म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र सलहेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् । फाइनल खेल यही फागुन २४ गतेका दिन हुने छ।

Post Comments