News अन्तर्राष्ट्रिय फुटबलमा रोहितको उपलब्धी
गोलनेपाल

काठमाडौं । नेपालको घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा रोहित चन्दको नाम त्यति नौलो अब रहेन । उनै रोहितले बुधबार साफ च्याम्पियनपिसपमा बंगलादेश विरुद्ध एउटा विशेष उपलब्धी हासिल गर्न सफल भए ।

बंगलादेश विरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक म्याच खेल्ने उनी संयूक्त रुपमा दोस्रो खेलाडी बने । र पूर्व कप्तान बिराज महर्जनको ७३औं अन्तर्राष्ट्रिय क्यापको बराबरी गर्न पनि सफल भए ।

संयोग कस्तो भन्दा रोहितले देशका लागि ७३औं म्याच खेलेकै दिन उनी बंगलादेश विरुद्धको खेलमा म्यान अफ द म्याच समेत चुनिएका थिए । त्यो खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा पुग्न सफल भएको थियो ।

उता अब नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाडीमा अहिलेका नियमित कप्तान तथा गोलरक्षक किरन चेम्जोङ छन् । उनले हालसम्म नेपालका लागि कुल ७८ अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।

स्मरण रहोस, नेपालले हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ । फाइनल खेल यहि अक्टुबर १६ तारीख (शनिबार) का दिन हुँदैछ । जुन खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments