News प्रशिक्षक अब्दुलाको सम्झौता नवीकरण हुने सम्भावना बलियो
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले आफ्नो सम्झौता नवीकरण गर्ने सम्भावना बलियो बनेको छ ।

साफ च्याम्पियनसिपको फाइनल अघि राजिनामाको घोषणा गरेका अब्दुलाले फाइनल पछि भने नेपाली टोलीसँगको आफ्नो सम्झौता नवीकरण गर्ने पक्षमा थिए । नेपालसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै अब्दुलाले एन्फाले आफूलाई प्रस्ताव गरेको खण्डमा त्यो प्रस्ताव सहज स्वीकार्ने बताएका थिए ।

यद्यपि उनले यसपटक सम्झौता नवीकरण गर्दा आफूले पनि केही शर्तहरु राख्ने बताएका थिए । स्मरण रहोस, कतार एफएको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षक अब्दुलाको नेपालसँगको सम्झौता यहि शुक्रबार (भोली) सकिंदैछ ।

त्यसैक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशिक्षक अब्दुलासँग भेटघाट गरेका छन् । उक्त भेटघाट सकरात्मक भएको बुझिएको छ । अध्यक्ष शेर्पाले राष्ट्रिय फुटबल टोलीलाई थप मजबुत बनाउन प्रशिक्षक अब्दुलासँग आवश्यक छलफल गरिएको बताएका छन् ।

अध्यक्ष शेर्पासँगको भेट र त्यो छलफलले प्रशिक्षक अब्दुला अझै नेपाल मै रहने अडकल काटिएको छ । नेपाली समर्थकहरु माझ पनि लोकप्रिय अब्दुलाले नेपाली फुटबल टोलीको जिम्मेवारी सम्हाले यता नेपालले पछिल्लो समय फुटबलमा राम्रो सफलता र प्रदर्शन गर्दै आईरहेको छ ।

नेपालले आगामी बर्ष हुने एएफसी एसियन कप छनौटको तेस्रो राउण्डमा खेल्ने कार्यक्रम छ । जसको फाइनल ड्र यहि अक्टुबर २२ तारीख शुक्रबारका दिन निकालिने पनि तय भईसकेको छ ।

Post Comments