News पिट्सबर्ग च्यालेन्ज कप शुरु, भाउन्नेको विजयी शुरुवात
गोपाल काफ्ले

पथरी । अमेरीकामा रहेका नेपालीभाषीहरुको सहयोगमा मोरङको पथरी शनिश्चरेमा सुरु भएको पिट्सबर्ग च्यालेन्ज कपको उद्घाटन खेलमा भाउन्ने एफसी विजयी भएको छ । मोरङको पथरी शनिश्चरे शिविर क्याम्पमा भएकोे प्रतियोगिताको उद्घाटन खेलमा भाउन्नेले शिवसताक्षी एफसीलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

भाउन्नेको जितमा दुवै गोल सन्तोष न्यौपानेले खेलको २१औं र ५५औं मिनेटमा गर्दै टोलीका लागि निर्णायक बने । उता पराजित शिवसताक्षीका लागि २७औं मिनटमा मनिष लिम्बुले गोल गरे तापनि टोलीको हार भने टार्न सकेनन् । खेलको म्यान अफ द म्याच पनि भाउन्नेका सन्तोष न्यौपाने घोषित भए ।

उनले पुरस्कार वापत नगद २५ सय हात पारे । उनलाई अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लवका सदस्य अर्जुन क्षेत्रीले पुरस्कृत गरेका थिए । प्रतियोगिता अन्तरगत कार्तिक ११ गते बिहीबारको खेल विराटनगर फुटवल क्लव र भुटानी ब्वाइज क्लवका विच हुने आयोजकले जनाएको छ ।

अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकामा रहेको मेघ सुबेदीको कम्पनी सिजल सिस्टरले गरेको छ ।

त्यस्तै प्रतियोगिताकोे उद्घाटन एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टले गरेकी थिईन् । उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख बिष्टले “नगरको चाहाना खेलकुदको माध्यमबाट नगरका युवाहरुले आफ्नो पहिचान बनाउन सकुन भन्ने उदेश्यका साथ १० वडामा खेल मैदान अभियानमा नगर रहेको” बताईन् ।

 

Post Comments