News एकतर्फी जितका साथ एपिएफ सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । सहज जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ क्लब यहाँ जारी बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा आमुक्त परिवार, पश्चिम बंगाल (भारत) लाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

लक्ष्मीमार्ग रंगशालामा सम्पन्न खेलको २२औं मिनटमा आभाष लामाले एपिएफका लागि पहिलो गोल गरेका थिए । लगतै २३औं मिनेटमा आवाश लामाले नै सानो डिबक्स भित्रबाट प्रहार गरेको बल बाहिरिएको थियो । त्यस्तै सनिस श्रेष्टको २६ र ३६ औं मिनेटमा पाएको फ्री बल समेत गोल गर्न सकेनन । खेलको ४४औं मिनेटमा प्रदिप लामाले एपिएफको अग्रता दोब्बर पारे ।

४९औं मिनटमा आशिष लामाले त्यो अग्रता तेब्बर पार्दा ७५औं मिनटमा सबिन गुरुङले विभागीय टोलीका लागि चौथो गोल थपे । खेलमा विपक्षीमाथि हावी बनेको एपिएफका लागि ८१औं मिनटमा आशिष लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै एपिएफको शानदार जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच सशस्त्र कै आशिस लामा घोषित भए । लामालाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी बरिष्ठ उपरिक्षक प्रदेश नं २ तालिम केन्द्र प्रमुख केदार ढकाल ज्युले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक १३ गते शनिबारको तेस्रो क्वाटर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाण्डौ र गाईघाट फुटबल क्लब उदयपुर विच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कातिृक १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments