News ए डिभिजन लिगको खेलतालिका सार्वजनिक
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको खेलतालिका शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएकोे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा लिगको शुरुवाती दुई चरणको खेलतालिका सार्वजनिक गरेको हो । साथै बाँकी राउण्डको खेलतालिका छिटै प्रकाशित गरिने एन्फाले जनाएको छ । यसपटक लिग सञ्चालन अवधि पनि लम्बिएको छ ।

एन्फाका अनुसार यस बर्षको लिग कार्तिक २९ मा शुरु भई फागुन १४ सम्म चल्नेछ् । जुन करिब ५ महिनासम्म चल्ने निश्चित भएको छ । प्रतियोगिताको उद्घाटन खेल कार्तिक २९ गतेका दिन फ्रेण्डस क्लब र नवआगन्तुक टोली सातदोबाटो युथ क्लबबीच हुनेछ ।

उद्घाटन खेल नेपाली समयअनुसार बेलुका ५ बजेदेखि कृत्रिम प्रकाशमा हुनेछ । एन्फाका अनुसार लिगका खेलहरु दशरथ रंगशालामा बाहेक सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा पनि हुने एन्फाले जनाएको छ ।

आकर्षक पुरस्कार राशी

यस बर्ष हुने लिगका लागि एन्फाले पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । एन्फाका अनुसार यसपटक लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने दोस्रो हुने टोलीले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख पाउने एन्फाले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ लिगको सावोत्कृष्ट खेलाडीले गोल्डेन बल हात पार्नेछ भने सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट दिईने पनि एन्फाले जानकारी दियो । त्यस्तै उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोव दिइने पनि एन्फाले जनाएको छ ।

लिगमा कुल १४ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणको लिग उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।

हेर्नहोस खेलतालिकाः

 

Post Comments