News आयोजकलाई हराउँदै राजारानी सेमिफाइनलमा
गोलनेपाल

लक्ष्मीमार्ग । आयोजक डाँगीहाट युथ क्लबलाई निराश तुल्याउँदै राजारानी (रारा) फुटबल क्लब यहाँ जारी चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा राजारानीले डाँगीहाटलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । लक्ष्मीमार्ग रंगशालामा भएको खेलको दशौं मिनटमै ग्लोरीको गोलबाट राजारानीले खेलमा अग्रता बनाएको थियो ।

तर ३१औं मिनटमा सन्तोष न्यौपानेले डाँगीहाटका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि प्रतिस्पर्धात्मक खेलको अन्तिमतिर योगेश गुरुङले राजारानीका लागि निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा राजारानीका कप्तान बुद्ध चेम्जोङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १५ गते सोमबारको पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र रोलिङ क्लब धुलावारी बीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments