News बेलबारी गोल्डकपको फाइनलमा शेर्पा
गोपाल काफ्ले

लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लब यहाँ जारी चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा शेर्पाले रोलिङ क्लब, झापालाई ३–१ ले हराउँदै सिजनको पहिलो फाइनलमा पुगेको हो । लक्ष्मीमार्ग रंगशालामा भएको खेलको १६औं मिनटमा पिस्टनको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफसम्म शेर्पाले सोही अग्रतालाई कायम पनि राख्यो ।

दोस्रो हाफतर्फ ५०औं मिनटमा कप्तान विश्वास श्रेष्ठले शेर्पाका लागि दोस्रो गोल गरे भने त्यसको दुई मिनट लगतै बिसन गुरुङले तेस्रो गोल थप्दै शेर्पाको प्रभावशाली जित सुनिश्चित गरे । त्यस्तै ५७औं मिनटमा रोलिङका लागि डेडी वाम्बालेले एक गोल फर्काए तापनि झापाली टोलीको हार टार्न सकेनन् ।

प्रतियोगिताको उद्घाटन खेलमै च्यासल युथ क्लबलाई हराएर उत्साहित बनेको रोलिङले सोही नतिजालाई शेर्पा विरुद्ध दोहोर्याउन सकेन । खेलमा शेर्पाका त्रिदेव गुरुङ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र रारा एफसी बीच हुने आयोजकले जनाएकोे छ ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments