News सहज जित निकाल्दै शेर्पा च्याम्पियन
गोलनेपाल

लक्ष्मीमार्ग । सहज जित हात पार्दे हिमालयन शेर्पा क्लब यहाँ सम्पन्न चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न फाइनलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ३–१ ले हराउँदै शेर्पाले उपाधि माथि कब्जा जमाउन सफल भएको हो । लक्ष्मीमार्ग रंगशालामा भएको फाइनल खेलको पाँचौं मिनटमै एन्जल गुरुङको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि ४३औं मिनटमा रबि थिङले एपिएफका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा भने शेर्पाले खेलमा आफ्नो नियन्त्रणमा राख्यो । ७१औं मिनटमा मुटम्बाले शेर्पाका लागि दोस्रो गोल गरे भने ८९औं मिनटमा सुरेश कुमालले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

विजेता बनेको शेर्पाले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता एपिएफले २ लाख ५० हजारमा चित् बुझायो । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक कानुन मन्त्री केदार कार्की लगायतले पुरस्कृत गरे ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा कार्तिक ११ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments