News शानदार जितका साथ बीबीएफसी, झापा सेमिफाइनलमा
गोलनेपाल

माङ्सेबुङ । फराकिलो जित हात पार्दै बीबीएफसी, दमक झापा यहाँ जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङ्सेबुङ इलाम स्थित आत्मानन्द खेलमैदानमा आइतबार भएको दोस्रो क्वटरफाइनलमा बीबीएफसीले रेड हर्ष इलामलाई शून्यका विरुद्ध ६ गोलले हराउँदै विजयी भएको हो ।

बीबीएफसीको जितमा खेल शुरु भएको चौथो र नवौं मिनटमा किस्मत लिम्बुले लगातार दुई गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका थिए । १४औं मिनटमा आशिष चापागाईंले त्यो अग्रता तेब्बर पारे ।

खेलमा एकपक्षीय जित हात पारेको बीबीएफसीका लागि ४७औं मिनटमा गौरव धिमालले चौथो गोल थपे । ६४औं मिनटमा राजन धिमालले पाँचौं गोल थपे भने लगतै ६७औं मिनटमा बिक्रम राईले छैठौं गोल गर्दै झापाली टोलीको शानदार जित पक्का गरे ।

खेलमा बीबीएफसीका किस्मत लिम्बुले म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ५ हजार हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १३ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल फिदिपम स्र्पोटिङ क्लब, पाँचथर र झापा–११ बीच हुने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुम, माङ्सेबुङ इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ पाउने आयोजकले जनाएको छ । फुटबल संघ, इलामको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments