News सेन्ट जोन्सलाई ग्रासरुट लिगको उपाधी
गोलनेपाल

बाराको सिमरा रंगशालामा सञ्चालन गरिएको ग्रासरुट फूटवल लिगको उपाधी सेन्ट जोन्स स्कुलले जितेको छ ।

डुमरवानाको राष्ट्रिय सामुदायिक शिक्षा सदनलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्दै सेन्ट जोन्सले उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो ।

यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पव्लिक इंगलिस स्कुललाई १–० ले पराजित ग¥यो । उपाधी बिजेता र उपबिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, जन जागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए । कार्तिक ३० गतेदेखी सुरु भएको लिगमा १३ विद्यालयको सहभागिता रहेको थियो ।

दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अखिल नेपाल फूटवल संघ (एन्फा) ले बारामा ग्रासरुट फूटवल सञ्चालन गरिरहेको छ । स्कुले बालबालिकालाई लक्षित गरिएको कार्यक्रममा बाराका विभिन्न विद्यालयका पॉच सय भन्दा बढि बालबालिका प्रशिक्षणरत छन् ।

१५ महिना अघि सुरु भएको ग्रासरुट कार्यक्रममा प्रशिक्षण लिईरहेका बालबालिकालाई अनुभव र दक्षताका लागि लिग सञ्चालन गरिएको संयोजक रामचन्द्र लामाले जानकारी दिए । लिगले बालबालिकालाई उर्जा थप्नेमा आफू आशावादी रहेको भन्दै लिगको अवधारणा ल्याइएको बताए ।

लिगमा सिमरा पव्लिक स्कुल, सेन्ट जोन्स, राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदन, प्रोग्रेस एकेडेमी, शुभतारा, सेन्ट अल्फोन्सा, न्यु एकता, अक्षरा पाठशाला, सेन्ट पिटर्स, लोटस, व्राइटर, पाथिभरा र नोबेल एकाडेमी गरि १३ विद्यालयका २ सय ३४ बालबालिका लिगमा सहभागी थिए ।

 

Post Comments