News होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
गोलनेपाल

नेपालगन्ज । बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा यु–१८ फुटबल प्रतियोगितामा होलिल्याण्डको छात्र र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम च्याम्पियन भएका छन् ।

छात्रतर्फ होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा (५–४ गोल) पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए ।

२४ औं मिनेटमा अनमोल विकको गोलबाट होलिल्याण्डले अग्रता लिएको थियो । ४७ औं मिनेटमा सुनिल थारुले गोल गरेर नेपालगन्ज मोडेललाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा होलिल्याण्डले सफलता प्राप्त गरेको थियो ।

होलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोकामगर, अनमोल विकले गोल गरे । त्यस्तै हिमाल पुरीको प्रहार नेपालगन्ज मोडेलका गोलकिपर आयुष चन्दले रोकेका थिए ।

नेपालगन्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गोल गरे भने पुष्कर मल्ल र निराजन शाहीले गोल गर्न असफल भए ।

फाइनल खेलको प्लेयर अफ द म्याच होलिल्याण्डका गोलकिपर प्रविण सुनार बनिन । उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गरे ।

छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३–०ले गोलले पराजित गरेको छ । नेपालगन्ज मोडेलकी ज्योति कँडेलले सातांै र ३६ मिनेट तथा विनिता चौधरीले २१ औं मिनेटमा गोल गरेका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच नेपालगन्ज मोडेलकी ज्योति कँडेल बनिन । उनलाई बाँके जिल्ला महिला फुटबल समितिकी महासचिव सुमित्रा लामिछानेले पुरस्कृत गरिन् ।

प्रतियोगिताका छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज मोडेल एकेडेमीकी भावना खड्का चुनिए ।

विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्याण्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज मोडेलका सुनिल थारु, मिडफिल्डमा नेपालगन्ज मोडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा होलिल्याण्डका अनमोल विक र उत्कृष्ट प्रशिक्षकमा होलिल्याण्डका जंगबहादुर थापा पुरस्कृत भए ।

छात्रामा उत्कृष्ट गोलकिपर मनकामना स्कुलकी प्रियंका विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज मोडेलका क्रमशः शितल रोकाय, सविता चौधरी, ज्योति कँडेल तथा उत्कृष्ट प्रशिक्षकको रुपमा नेपालगन्ज मोडेलका नरेन्द्र शाह पुरस्कृत भए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार प्राप्त गरेको छ ।

विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भोजराज शाहीगलायतले पुरस्कृत गरे । जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।

Post Comments