News बुटवल युनाइटेडको शानदार शुरुवात
सुरज राना मगर

बुटवल । बुटवलमा जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितातर्फ शनिबार भएको पहिलो खेलमा बुटवल युनाइटेडले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा बुटवल युनाइटेडले चाँदनी युवा क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हरायो । बुटवल युनाइटेडको जितमा बिमल बिक, मोहन गुरुङ र रेशम थापाले गोल गरे । सो खेलमा बुटवल युनाइटेड कै रेशम थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा लिग उपाधिको दावेदार मध्ये एक फर्साटिकर युवा क्लब र लिस्नु युवा क्लबले प्रतिस्पर्धात्मक रुपमा गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा फर्साटिकर युवा क्लबका सुरज चौधरी म्यान अफ द म्याच घोषित भए ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।

आगामी पुष १० गतेसम्म चल्ने प्रतियोगितामा कुल ४५ खेलहरु हुनेछन् । लिगको अन्तिम दिनको खेल पश्चात शिर्ष टोली लिग च्याम्पियन बन्नेछ । प्रतियोगितामा हाल गत बर्ष शिर्ष आठ स्थान हासिल गरेका टोली र यसै बर्षको लिग छनौटबाट आएका दुई टोली गरी कुल १० टोलीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

Post Comments