News गोर्खा ब्वाईज र लिस्नुको रोमाञ्चक बराबरी
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएका दुवै खेलहरु रोमाञ्चक बराबरीमा सकिएका छन् । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब र लिस्नु युवा क्लबले ३–३ गोलको रोमाञ्चक बराबरी खेले ।

खेलमा दुवै टोलीका लागि एकै खेलाडीले ह्याट्रिक गरे । खेलमा गोर्खा ब्वाईजका लागि सुरज घलानले ह्याट्रिक गरे भने लिस्नुका लागि कप्तान निकेश गुरुङले ह्याट्रिक गरेका थिए ।

साथै लिस्नुका निकेश गुरुङ नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । यो नतिजापछि २ खेलबाट गोर्खा ब्वाइजको ४ अंक भएको छ भने लगातार दोस्रो बराबरी खेलेको लिस्नुको २ अंक छ ।

त्यस्तै दोस्रो खेलमा सौभाग्य युवा क्लब र भूपू सैनिक स्र्पोटिङ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा सौभाग्यका मिलन क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

मंगलबारको नतिजापछि लगातार दोस्रो बराबरी खेलेको सौभाग्यको दुई खेलबाट २ अंक भएको छ । त्यस्तै आफ्नो पहिलो खेलमा गोर्खा ब्वाइजसँग पराजित हुन पुगेको भूपू सैनिकले १ अंक जोड्न सफल भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो हासिल गर्ने टोलीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

आगामी पुष १० गतेसम्म चल्ने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् ।

 

 

Post Comments