News डिएमसीसँग हार्यो साविक विजेता झरना
सुरज राना मगर

बुटवल । डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टस क्लबले रुपन्देहीमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा डिएमसीले झरना स्पोर्टसलाई २–१ ले हरायो । खेलको ४१औं मिनटमा शरद क्षेत्रीको पेनाल्टी गोलबाट झरनाले अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन ।

उता डिएमसीका लागि ५८ र ६४औं मिनटमा सुजन दगामीले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरेका थिए । खेलमा दगामी नै म्यान अफ द म्याच समेत घोषित भए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा सुनौलो संगम युवा क्लब र बुटवल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा सुनौलो संगमका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।

लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।

आउँदो पुष १० गतेसम्म चल्ने लिगमा कुल ४५ खेलहरु हुने छन् । जसमा एक टोलीले समग्रमा ९ खेलहरु खेल्ने छन् ।

 

Post Comments