News भरतपुर एफसीलाई केबिए ग्लोबलको साथ
गोलनेपाल

चितवन । मोफसलमा रहेर पनि देशैभरि हुने अधिकांश फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाई फरक पहिचानका साथ सफलता समेत हात पार्न सफल भरतपुर फुटबल क्लबले नयाँ पार्टनर पाएको छ ।

चितवन कै चर्चित र सफलतम क्लबमा दरिएको भरतपुरले चितवनको अग्रणी शैक्षिक संस्था मध्ये एक केबिए ग्लोबल चितवनलाई मुख्य प्रायोजकका रुपमा पाएको हो । सम्झौता तीन बर्षका लागि भएको क्लबले जनाएको छ ।

बुधबार भरतपुर एफसी र केबिए ग्लोबलबीच सहमतिसँगै सम्झौतापत्रमा हस्ताक्षर र प्रदान प्रदान पनि भयो । सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष लक्ष्मण गुरुङ तथा केबिए ग्लोबलका लागि सिइओ शम्भु कंडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतासँगै क्लबको नाम केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवन भएको छ ।

साथै अब क्लबले केबिए ग्लोबलको लागो अंकित जर्सी समेत प्रयोग गर्नेछ । सम्झौता अनुसार केबिए ग्लोबलले भरतपुर एफसीलाई वार्षिक ८ लाख उपलब्ध गराउनेछ । जुन मोफसलको फुटबलमा कुनै क्लबले पाएको अहिलेसम्म कै सर्वाधिक राशीको प्रायोजन रकम रहेको समेत बताइएको छ ।

केबिए ग्लोबलसँग सहकार्य गर्न पाउँदा भरतपुर एफसीका अध्यक्ष गुरुङ पनि खुशी देखिए र केबिए ग्लोबलाई धन्यवाद समेत दिए । उता केबिए ग्लोबलका सिइओ कंडेलले भरतपुर एफसीसँग जोडिएर खेलकुदको माध्यमबाट सामाजिक उत्तरदायीत्व वहन गर्ने आफूहरुको योजना पूरा भएको बताए । र यो सहकार्यलाई आगाी दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको समेत खुलाए ।

सम्झौतापश्चात क्लबका मुख्य प्रशिक्षक तथा व्यवस्थापक ध्रुव भुसालले केबिए ग्लोबलसँगको सम्झौतासँगै भरतपुर एफसी थप मजबुत भएको प्रतिक्रिया दिए । “यो सम्झौताले हामीलाई अझै राम्रो गर्न हौसला मिलेको छ । अब क्लबले अझै सफलता हासिल गर्ने हाम्रो विश्वास छ । केबिए ग्लोबलसँग जोडिन पाउँदा हामी उत्साहित पनि छौं । आगामी दिनहरुमा संस्था र क्लब दुवैको नाम उच्च राख्न हाम्रो प्रयास र लक्ष्य जारी रहनेछ ।” भुसालले भने ।

Post Comments