News साविक विजेता झरनाको पहिलो जित
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिगमा साविक विजेता झरना स्पोर्टस क्लबले शुक्रबार पहिलो जित हात पारेको छ । आफ्नो शुरुवाती दुई खेलमा लगातार हार बेहोरेको झरनाले शुक्रबार सौभाग्य युवा क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा झरनाका लागि सेठ परियार र रोहित सुनारले गोल गरे । उता पराजित सौभाग्यका लागि आवेश शाहीले एक मात्र गोल फर्काएका थिए ।

खेलमा झरनाका कप्तान ओमप्रकाश थापा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ३ खेलबाट ३ अंक जोडेको झरना सातौं स्थानमा उक्लेको छ । पराजित सौभाग्य भने २ अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा उपाधिको दावेदार मध्ये एक गोर्खा ब्वाइज स्पोर्टस क्लबले डिएमसीलाई २–० ले हरायो । गोर्खा ब्वाईजको जितमा अंकित थापा र सुरज घलानले गोल गरे ।

खेलको म्यान अफ द म्याच भने गोर्खा ब्वाईज कै सरोज दर्लामी घोषित भए । यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको गोर्खा ब्वाईज ७ अंकका साथ दोस्रो स्थानमा छ । समान ७ अंक भएको फर्साटिकर युवा क्लब शिर्ष स्थानमा रहँदा सुनौलो संगम तेस्रो स्थानमा छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिग आगामी पुष १० गतेसम्म चल्नेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली लिग च्याम्पियन बन्नेछ ।

 

Post Comments