News गोर्खा ब्वाईज र बुटवल युनाइटेडको जित
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि होडमा रहेका गोर्खा ब्वाईज स्पोर्टस क्लब र बुटवल युनाइटेडले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल स्थित एन्फा एकेडेमीको खेलमैदानमा सम्पन्न पहिलो खेलमा गोर्खा ब्वाईजले फर्साटिकर युवा क्लबलाई ३–० ले हरायो । गोर्खा ब्वाईजको जितमा सरोज दर्लामी, सुरज घलान र अंकित सिंजालीले गोल गरे ।

खेलको म्यान अफ द म्याच गोर्खा ब्वाईज कै रोशन सेन घोषित भए । यो जितसँगै ६ खेलबाट १६ अंक जोडेको गोर्खा ब्वाईज लिगतालिकाको शिर्ष स्थानमा छ । पराजित फर्साटिकर भने १० अंकका साथ चौथो स्थानमा छ ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा बुटवल युनाइटेडले भूपू सैनिक स्र्पोटिङ क्लबलाई शुन्यका विरुद्ध १ गोलले हरायो । खेलमा बुटवल युनाइटेडका लागि कप्तान कृष्ण बलालले एक मात्र निर्णायक गोल गरे ।

खेलमा बुटवल युनाइटेड कै राजेश बिक म्यान अफ द म्याच घोषित भए । यो जितपछि ७ खेलबाट १६ अंक जोडेको बुटवल युनाइटेड दोस्रो स्थानमा छ । पराजित भूपू सैनिक भने ७ अंकका साथ सातौं स्थानमा छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments