News सौभाग्य र सुनौलोको जित, रोमाञ्चक बन्दै रुपन्देही जिल्ला लिग
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको सातौं चरणको खेलहरु सम्पन्न हुँदासम्म लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । बुधबार भएका दुई खेलहरुमा सौभाग्य युवा क्लब र सुनौलो संगम युवा क्लबले जित निकालेपछि लिग रोमाञ्चक बनेको हो ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा सौभाग्यले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । सौभाग्यको जितमा जुलेश थापा, यमु राना र आयुष क्षेत्रीले गोल गरे । खेलको म्यान अफ द म्याच पनि सौभाग्यका सन्दिप बुढाथोकी घोषित भए ।

यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको सौभाग्य पाँचौं स्थानमा पुगेको छ । पराजित फर्साटिकर भने १० अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।

त्यस्तै दोस्रो खेलमा सुनौलो संगमले लिगलिडर गोर्खा ब्वाईज स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हरायो । सुनौलोका लागि निर बहादुर थापाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच सुनौलोका सिजन दगामी घोषित भए ।

यो जितसँगै ७ खेलबाट सुनौलो संगमको पनि १६ अंक भएको छ र लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित गोर्खा ब्वाईज समान १६ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा पनि समान १६ अंक जोडेको बुटवल युनाइटेड छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments