News डिएमसी र भूपू सैनिकको बराबरी, लिस्नुलाई तीन अंक
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिगमा बिहीबार सम्पन्न एक मात्र खेलमा भूपू सैनिक स्र्पोटिङ क्लब र डिएमसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा डिएमसी र भूपूले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै पक्षबाट गोलको प्रयास भए तापनि दुवै टोली गोल गर्न सफल भएनन् ।

खेलमा भूपू सैनिकका गोलरक्षक मनोज बिष्ट म्यान अफ द म्याच घोषित भए । यो नतिजासँगै ८ खेलबाट ६ अंक जोडेको डिएमसी नवौं स्थानमा छ । उता भूपू सैनिक ८ अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै बिहीबार नै चाँदनी युवा क्लब र लिस्नु युवा क्लबबीच खेल हुने कार्यक्रम थियो । तर चाँदनी यसअघि नै फुटबल संघको कारवाहीमा परेपछि लिस्नुलाई ३–० को जित र ३ अंक दिइएको थियो ।

यो नतिजापछि ८ खेलबाट ९ अंक जोडेको लिस्नु सातौं स्थानमा छ । अंकविहीन चाँदनी भने पुछारमा छ र फुटबल संघको कारवाहीमा परेको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments