News झरना र सुनौलो संगमलाई सफलता
सुरज राना मगर

बुटवल । यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत झरना स्पोर्टस क्लब र सुनौलो संगम युवा क्लबले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा झरना स्पोर्टस क्लबले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । झरनाको जितमा रोहित सुनार र शरद क्षेत्रीले गोल गरे ।

खेलमा पराजित फर्साटिकर युवा क्लबका बिष्णु सारु म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ८ खेलबाट १५ अंक जोडेको झरना लिगतालिकाको चौथो स्थानमा पुगेको छ । उता पराजित फर्साटिकर भने १० अंकका साथ छैठौं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा सुनौलो संगमले सौभाग्य युवा क्लबमाथि ३–० को एकतर्फी जित निकाल्यो । सुनौलोको जितमा अजित थापा, रबिन थापा र मनिष थापाले गोल गरे ।

खेलको म्यान अफ द म्याच पनि सुनौलो कै अजित थापा घोषित भए । यो जितपछि ८ खेलबाट १९ अंक जोडेको सुनौलो शिर्ष स्थानमा उक्लेको छ । पराजित सौभाग्य भने ११ अंकका साथ पाँचौं स्थानमा छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments