News प्रथम गैंडहवा अध्यक्ष कपमा कपिलवस्तुको विजयी शुरुवात
सुरज राना मगर

मैनिया । शनिबारदेखि रुपन्देहीको गैंडहवा गाउँपालिकामा शुरु प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगितामा कपिलवस्तु–११ ले विजयी शुरुवात गरेको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा कपिलवस्तुले विश्वशान्ती युवा क्लब, सालझण्डीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

कपिलवस्तुका लागि सन्जु सेन र सुनिल क्षेत्रीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पनि कपिलवस्तु कै आशिष पुन घोषित भए । साथै यो जितसँगै कपिलवस्तु प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत पौष ११ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल मुर्गिया एफसी, मुर्गिया र स्क्रिन दर्शन युवा क्लब, जलैयाबीच हुने प्रतियोगिता संयोजक प्रकाश हमालले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच गैंडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गरेका थिए । सो अवसरमा आयोजक एभरेष्ट युवा क्लबका अध्यक्ष पदम बहादुर मगर, गैंडहवा गाउँपालिकाकी उपाध्यक्ष सुवावती यादव, प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जवी घिमिरे, गैंडहवा गाउँपालिका वार्ड नम्बर ८ का अध्यक्ष भुवन बहादुर राना लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

न्यु एभरेष्ट युवा क्लबको आयोजना तथा गैंडहवा गाउँपालिकाको संरक्षकत्वमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि पौष १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments