News गोर्खा ब्वाईजको जितमा सरोजको निर्णायक गोल
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिगको उपाधि दावेदार मध्ये एक गोर्खा ब्वाईज स्पोर्टस क्लबले शनिबार भएको एक मात्र खेलमा महत्वपूर्ण जित हात पारेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको एक मात्र खेलमा गोर्खा ब्वाईजले अर्को दावेदार टोली बुटवल युनाइटेड विरुद्ध १–० को साँघुरो जित निकाल्यो । गोर्खा ब्वाईजका लागि सरोज दर्लामीले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता सरोज दर्लामी नै म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै ८ खेलबाट १९ अंक जोडेको गोर्खा ब्वाईज फेरि शिर्ष स्थानमा उक्लिएको छ । पराजित बुटवल युनाइटेड भने १६ अंकका साथ तेस्रो स्थानमा छ ।

त्यस्तै शनिबार नै चाँदनी युवा क्लब र डिएमसीबीच खेल हुने कार्यक्रम थियो । तर लिगको बाँकी खेल खेल्न नपाउने गरि फुटबल संघको कारवाहीमा परेको चाँदनी विरुद्धको त्यो खेलमा डिएमसीलाई ३–० को जितसँगै निश्चित ३ अंक दिइएको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments