बुटवल । यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता समापनको संघारमा आइपुग्दासम्म थप रोमाञ्चक बनेको छ । आइतबार भएका दुई खेलहरु बराबरीमा सकिएपछि लिगको निर्णायक नतिजा अन्तिम दिन अर्थात पौष १२ गते नै निस्किने पक्का भएको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा फर्साटिकर युवा क्लब र भूपू सैनिक युवा क्लबलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा फर्साटिकरका लागि अवतार थापाले गोल गरे भने भूपूका लागि सन्देश सुवेदीले गोल गरेका थिए । खेलमा फर्साटिकरका दिपेन सेन म्यान अफ द म्याच चुनिए ।
यो नतिजापछि ९ खेलबाट ११ जोडेको फर्साटिकरले लिगतालिकाको छैठौं स्थानमा रहेर लिगको समापन गरेको छ । त्यस्तै ९ अंक जोडेको भूपू नवौं स्थानमा रह्यो । रेलिगेशनमा पर्न बाध्य भयो । भूपूले आगामी सिजन लिगको क्वालिफायर खेल्नुपर्ने पक्का भएको छ ।
त्यस्तै दोस्रो खेलमा लिग उपाधि जित्ने संघारमा रहेको सुनौलो संगम युवा क्लबले पनि लिस्नु युवा क्लबसँग १–१ को बराबरी खेल्यो । सुनौलोले आइतबारको खेल जितेको भए लिग विजेता बन्ने थियो । ९ खेलबाट २० अंक जोडेको सुनौलो शिर्ष स्थानमा छ ।
एक खेल कम खेलेको गोर्खा ब्वाईज १९ अंकका साथ दोस्रो स्थानमा छ । गोर्खाले सोमबार सौभाग्य युवा क्लबसँग खेल्दैछ । त्यो खेल गोर्खाले जिते टोली लिग च्याम्पियन बन्नेछ । यद्यपि बराबरी खेले हेड टु हेडका आधारमा सुनौलो लिग च्याम्पियन बन्नेछ ।
त्यस्तै सुनौलोसँग बराबरी खेलेको लिस्नु १० अंकका साथ सातौं स्थानमा छ । सो खेलमा सुनौलोका लागि सुबिन बिकले गोल गरेका थिए भने लिस्नुका लागि हिमाल थापाले गोल गरेका थिए । थापा खेलको म्यान अफ द म्याच समेत घोषित भएका थिए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।