News सुनौलो संगमलाई रुपन्देही जिल्ला लिगको उपाधि
सुरज राना मगर

बुटवल (खेलदैनिक) । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लबले जितेको छ । लिगचरणको अन्तिम खेलमा सुनौलोले नखेले तापनि आफु अनुकुल नतिजा निस्किएपछि च्याम्पियन बनेको हो ।

लिगको अन्तिम दिन दोस्रो स्थानमा रहेको गोर्खा ब्वाईज स्पोर्टस क्लबले जित निकालेको भए लिग विजेता बन्ने थियो । तर, त्यो खेलमा गोर्खा ब्वाईज सौभाग्य युवा क्लबसँग ३–१ ले पराजित भएपछि सुनौलो एक अंक अगाडी रहँदै लिग विजेता बनेको हो ।

राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको समापनसम्म ९ खेलबाट २० अंक जोड्दै सुनौलो शिर्ष स्थानमा रह्यो । र लिग विजेता बन्यो । १९ अंक जोडेको गोर्खा ब्वाईज दोस्रो स्थानमा रह्यो ।

त्यस्तै १८ अंक जोडेको झरना तेस्रो टोली बन्यो भने १६ अंक जोडेको बुटवल युनाइटेड चौथो स्थानमा रह्यो । स्मरण रहोस, लिगको अन्तिम खेलमा बुटवल युनाइटेड र झरना भिडेका थिए । त्यो खेलमा झरना ३–२ ले विजयी बनेको थियो ।

लिग विजेता सुनौलोले उपाधिसहित १ लाख हात पार्यो भने दोस्रो स्थान हासिल गरेको गोर्खा ब्वाईजले ५० हजार र ट्रफीमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको झरनाले ३० हजार हात पार्दा चौथो स्थानको टोली बुटवल युनाइटेडले २० प्राप्त गर्यो ।

लिगविजेता सुनौलोले अब प्रदेश लिगमा रुपन्देहीको प्रतिनिधित्व गर्नेछ । लिगबाट यस सिजन भूपू सैनिक स्पोर्टस क्लब र चाँदनी युवा क्लब रेलिगेशनमा परेका छन् । शिर्ष आठ टोलीले आगामी बर्ष सोझै लिग खेल्ने पाउने छन् । जसमा शिर्ष चार टोली बाहेक फर्साटिकर युवा क्लब, डिएमसी, सौभाग्य युवा क्लब र लिस्नु युवा क्लब रहेका छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक गोर्खा ब्वाईजका निशान राना बने भने उत्कृष्ट डिफेन्डर सौभाग्यका मिलन क्षेत्री चुनिए । उत्कृष्ट मिडफिल्डर सुनौलो संगमका उमेश थापा घोषित हुँदा उत्कृष्ट फरवार्ड गोर्खा ब्वाईज कै सुरज घलान बने । उत्कृष्ट प्रशिक्षक भने सुनौलो संगमयका फन बहादुर थापा घोषित भए । सबैले जनही ट्रफी र ५–५ हजार हात पारे ।

समापन कार्यक्रममा खेलाडीहरुलाई रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार), नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्षद्वय हरि क्षेत्री, मुकेश कुँवर, महासचिव लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments